नियम १२
दीर्घकालिन करार सम्बन्धी अन्य व्यवस्था
(१) कुनै समयमा कुनै व्यक्तिको लगानी, रोजगारी वा व्यवसायबाट आर्जित आयलाई कुनै समयमा सामान्य आय वर्ष सरह गणना नगरी सो वा सोभन्दा अघिल्लो समयमा आय गणना गर्दा समावेश हुने रकमहरू क्रमवद्ध
बृद्धिको योग अनुसार समावेश हुने रकम हुनेछन् ।
(२) कुनै समयमा कुनै व्यक्तिको व्यवसाय वा लगानीबाट आर्जित आयलाई कुनै समयमा सामान्य आय वर्ष सरह गणना नगरी सो वा सोभन्दा अघिल्लो समयमा आय गणना गर्दा कट्टा गर्न पार्ईने रकमहरू क्रमवद्ध बृद्धिको योग अनुसार कट्टा गरिने रकम हुनेछन् ।
(३) कुनै खास समयमा ऐनको दफा २६ को उपदफा (२) मा उल्लिखित करारको सम्पन्न प्रतिशत निर्धारण गर्दा देहायबमोजिम निर्धारण गरिनेछः–
(क) उत्पादन, निर्माण वा जडानसग सम्बन्धित करार वा सो सग सम्बन्धित सेवाहरू पूरा गर्ने करारको सम्बन्धमा सो समयमा क्रमबद्ध बृद्धिको योग अनुसार कट्टा गरिने रकमलाई करार अन्त्य हुने समयमा क्रमबद्ध बृद्धिको योग अनुसार कट्टा गरिने रकमसग तुलना गरेर, वा
(ख) खण्ड (क) बाहेकका अवस्थामा सो खण्डको अधीनमा रही विभागले तोकेबमोजिम ।
(४) ऐनको दफा ९५ बमोजिम कुनै आय वर्षमा अनुमानित करको विवरण दाखिला गर्नु नपर्ने व्यक्तिको हकमा ऐनको दफा २६ मा गरिएको दीर्घकालीन करारको व्यवस्था लागु हुने छैन ।
(५) देहायको करारलाई ऐनको दफा २६ मा गरिएको दीर्घकालीन करारको व्यवस्था लागू हुनेछः–
(क) ऐन लागू हुदाका बखत उत्पादन, निर्माण वा जडानसग सम्बन्धित करार वा सो विषयसग सम्बन्धित सेवाहरू पूरा गर्ने करार, र
(ख) खण्ड (क) बाहेकको अवस्थामा विभागले तोकिदिएको समय र अवस्था अनुसारका करार ।